भक्तपुरमा श्री बाराही साकोसद्वारा आयोजित २ दिने मिठाई बनाउने तालिम सम्पन्न
भक्तपुर, १० जेठ । २०८३ ।
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) को आयोजनामा सदस्यहरूका लागि सञ्चालित २ दिने मिठाई बनाउने तालिम भव्य रूपमा समापन भएको छ । शेयर सदस्यहरूलाई स्वरोजगार बनाउने र परम्परागत सीपलाई व्यावसायिक रूप दिने उद्देश्यका साथ यो तालिम आयोजना गरिएको थियो ।
तालिमको समापन समारोहमा संस्थाका अध्यक्ष, संचालक समितिका पदाधिकारीहरू, कर्मचारीहरु तथा सदस्य तथा बचत उपसमितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि संस्थाका अध्यक्ष राधेश्याम सुवालले तालिममा सिकेका सीपलाई केवल झोलामा मात्र सीमित नराखी व्यवहारमा उतारेर आर्थिक रूपमा आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो । सहकारीले सदस्यहरूको आर्थिक र सामाजिक विकासका लागि आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।
दुई दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई स्थानीय बजारमा बढी माग हुने विभिन्न प्रकारका मिठाईहरू (जस्तैः दही, खजुरी, लालमोहन, जेरी, बर्फी, पतामिन्की र अन्य रैथाने मिठाई) व्यावसायिक र गुणस्तरीय तरिकाले बनाउने प्रयोगात्मक विधि प्रशिक्षक राधिका दिदिया माकबाट सिकाइएको थियो । तालिममा उत्साहजनक संख्यामा महिला तथा पुरुष शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
२३ जना सहभागीहरूमध्ये दुई जना सोनिया बासुकला र इन्दु श्रेष्ठले छोटो समयमै उपयोगी सीप सिक्न पाएकोमा संस्थाप्रति आभार प्रकट गर्दै सहकारीले यस्तो व्यावहारिक र सीपमूलक तालिम आयोजना गरिदिएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा व्यवसाय सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले सहकारीको उद्देश्य बचत र ऋणको कारोबार मात्र गर्ने नभई सदस्यहरूको जीवनस्तर उकास्नु पनि रहेको प्रष्ट पार्नुभयो । उहाँले तालिम चुस्त र प्रभावकारी रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै सहभागीहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्न सहकारीले आवश्यक वित्तीय सहयोग समेत गर्न सक्ने जानकारी दिनुभयो ।
संस्थाका कर्मचारी राम लक्ष्मी प्रजापतिले उद्घोषन गरेको समापन कार्यक्रममा सदस्य तथा बचत उपसमितिका सदस्य रचना खायमलीबाट स्वागत मन्तव्य, जमुना त्वानाबासुले धन्यवाद ज्ञापन गरी संयोजक सर्मिला मानन्धरबाट सभाबिर्षजन गर्नुभएको थियो ।