श्री बाराही साकोसमा हस्तलेखन तालिम सम्पन्न ।
भक्तपुर, चैत्र २८ गते, श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा हस्तलेखन तालिम (Handwriting Training) सफलतापूर्वक सम्पन्न भएको छ । संस्थाका सदस्यहरु तथा सदस्यका परिवारमा सुन्दर, स्पष्ट तथा प्रभावकारी लेखन सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा जम्मा १५जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले तालिमको महत्वमाथि प्रकाश पार्दै यस्ता सीपमूलक कार्यक्रमहरूले व्यक्तित्व विकासका साथै दैनिक जीवन र पेशागत कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्ने बताएका थिए । उहाँले लेखन शैलीमा सकारात्मक प्रभाव पार्न यस्ता तालिमहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न सुझाव दिएका थिए ।
प्रशिक्षक सुरज दिदियाले आफ्नो मन्तव्यमा राम्रो हस्तलेखन केवल सौन्दर्य मात्र नभई प्रभावकारी सञ्चारको माध्यम भएको बताउनुभयो । उहाँले नियमित अभ्यास, सही अक्षर संरचना र धैर्यतापूर्वक लेख्ने बानीले लेखाइमा उल्लेखनीय सुधार ल्याउन सकिने उल्लेख गर्नुभयो । साथै, डिजिटल युगमा पनि हस्तलेखनको महत्व घटेको नभई अझ व्यवस्थित र स्पष्ट लेखन आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले आफ्नो मन्तव्यमा सहकारी संस्थाले केवल आर्थिक क्रियाकलापमा मात्र सीमित नभई सदस्यहरूको समग्र विकासका लागि विभिन्न क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले हस्तलेखन जस्तो आधारभूत तर महत्वपूर्ण सीपले विद्यार्थी, कर्मचारी तथा व्यवसायी सबैलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तालिम अवधिभर सहभागीहरूलाई अक्षरको बनावट, लेखाइको गति, सफाइ तथा आकर्षक प्रस्तुतीकरणका विविध पक्षहरूबारे व्यवहारिक अभ्यास सहित प्रशिक्षण प्रदान गरिएको थियो । सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन् । समापन कार्यक्रममा प्रमुख अतिथि बलराम प्रजापतिबाट प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई कदर पत्र र प्रमाण पत्र समेत प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रशिक्षार्थि सेन हाकुदुवाल, ओर्जन कुसी समेतले आफनो अनुभव प्रस्तुत गर्नु भएको थियो ।
समापन कार्यक्रमका सभापति एवं आयोजक उपसमितिका संयोजक चंचल कर्माचार्यले आफ्नो मन्तव्यमा महिला उपसमितिको सक्रिय पहलमा सफलतापूर्वक सम्पन्न भएकोमा सम्पूर्ण सहभागी, प्रशिक्षक तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरिएको थियो ।