Shree Barahi Saving & Credit Co-operative Society Ltd.

२०८३ सालकाे क्यालेण्डर बिमाेचन ।

श्री बाराही साकोसद्वारा २०८३ सालको संस्थागत वार्षिक क्यालेन्डर विमोचन

भक्तपुर, चैत्र २० गते

श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.द्वारा प्रकाशित २०८३ सालको संस्थागत वार्षिक क्यालेन्डर संस्थाका अध्यक्ष राधेश्याम सुवालज्यूको प्रमुख आतिथ्यतामा औपचारिक रूपमा विमोचन गरिएको हो ।

विमोचन कार्यक्रममा अध्यक्ष सुवालले क्यालेन्डरको महत्वमाथि प्रकाश पार्दै यसले संस्थाको वार्षिक योजना, कार्यक्रम, सेवा तथा महत्वपूर्ण मितिहरूलाई समेटेर सदस्यहरूलाई समयमै जानकारी गराउने महत्वपूर्ण माध्यमका रूपमा काम गर्ने बताउनुभयो । उहाँले क्यालेन्डर मार्फत संस्थाका गतिविधिहरूलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै सदस्यहरूलाई नियमित बचत, ऋण भुक्तानी तथा संस्थाका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्ने उद्देश्यले क्यालेन्डर तयार गरिएको उल्लेख गर्नुभयो । उहाँले क्यालेन्डरले सदस्यहरूलाई समय व्यवस्थापनमा सहयोग पु¥याउने मात्र नभई संस्थासँगको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले क्यालेन्डरको महत्वबारे जानकारीमूलक कुरा राख्दै व्यवहारिक तथा संस्थागत महत्वबारे प्रकाश पार्नु भयो । उहाले भन्नु भयो, “क्यालेन्डर केवल मिति हेर्ने साधन मात्र नभई संस्थाको सेवा तथा कार्यक्रमहरूको जानकारी दिने, वित्तीय अनुशासन र सदस्य सेवासँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण दस्तावेज वा माध्यम हो ।”

उहाँले सदस्यहरूलाई क्यालेन्डरमा सार्वजनिक बिदाहरू, पर्व तथा विशेष दिवसहरूको जानकारी, संस्थाको सेवा समय, काउन्टर समय तथा महत्वपूर्ण सूचनाहरू, नियमित बचत, ऋण किस्ता भुक्तानी तथा अन्य वित्तीय कार्यका महत्वपूर्ण मितिहरू, सदस्य सचेतनामूलक सन्देशहरू तथा वित्तीय अनुशासन सम्बन्धी जानकारी, सहकारी सिद्धान्त, मूल्य र मान्यता सम्बन्धी संक्षिप्त जानकारी आदीलाई ध्यानमा राखि तयार गरिएको जानकारी गराउनु भयो ।

व्यवस्थापक हाकुदुवालले क्यालेन्डरले सदस्यहरूलाई आफ्नो आय–व्यय योजना बनाउन, बचत गर्ने बानी विकास गर्न तथा समयमै ऋण भुक्तानी गर्न प्रेरित गर्ने बताउनुभयो। साथै क्यालेन्डरको नियमित प्रयोगले सदस्यहरूमा आर्थिक अनुशासन, समय व्यवस्थापन र संस्थाप्रतिको उत्तरदायित्व अझ सुदृढ हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले क्यालेन्डरलाई घर, कार्यालय तथा कार्यस्थलमा राखेर दैनिक जीवनसँग जोड्न सदस्यहरूलाई आग्रह गर्दै यसबाट संस्थासँग निरन्तर सम्पर्कमा रहन सहज हुने बताउनुभयो ।

उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी, कर्मचारी, बासुरी बाजा समुह तथा सदस्यहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले क्यालेन्डरलाई संस्थाको पहिचान अभिवृद्धि गर्ने, सूचना प्रवाहलाई सहज बनाउने तथा सदस्य र संस्थाबीचको सम्बन्ध अझ मजबुत बनाउने महत्वपूर्ण माध्यमका रूपमा लिएका थिए ।

कार्यक्रमको अन्त्यमा उपस्थित सदस्यहरूलाई क्यालेन्डर वितरण समेत गरिएको थियो । संस्थाले हरेक वर्ष जस्तै यस वर्ष पनि आफ्ना सदस्यहरूलाई समय सापेक्ष तथा उपयोगी जानकारी उपलब्ध गराउने उद्देश्यले क्यालेन्डर प्रकाशन गरि निःशुल्क सदस्यहरु तथा सरोकारवालाहरुमा वितरण गर्ने जनाएको छ ।