६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघबाट श्री बाराही साकाेस भक्तपुर नगरस्तरीय उत्कृष्ठ सहकारी ब्यवसाय पुरस्कार २०७९काे लागि छनाैट गर्न सफल भएकोले संघप्रति धेरै धेरै धन्यवाद । यो खुसीको क्षणमा सम्पूर्ण शेयर सदस्य, पदाधिकारीहरू, कर्मचारीहरू तथा शुभचिन्तक महानुभावहरु प्रति हार्दिक आभार तथा उच्च सम्मान व्यक्त गर्दछौँ। यहाँहरूको निरन्तर सहयोग र सद्भभावको थप अपेक्षा राखिएको छ ।
https://www.youtube.com/clip/UgkxCEJojADKcr79POyH1gQq9SC2HiW3FtxX
सदस्यको बचतफिर्ता गर्न राज्यसंग पैसा माग्नु गलत
चैत्र २०, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजनामा जिल्ला स्थित जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ र जिल्ला बहु्उद्देश्यीय सहकारी संघहरुको समन्वयमा ६६औं राष्ट्रिय सहकारी दिवस प्रभातफेरी कार्यक्रम सहित टौमढीमा मनाइयो । बैंक वित्तीय संस्थामा जस्को धेरै पुँजी हुन्छ त्यसको बढी अधिकार हुन्छ तर सहकारीमा सदस्यको अधिकार एक व्यक्ति एक मतका आधारमा हुने भएकोले बहुमतमा मात्र निर्णय हुन्छ । सहकारी स्थानीय समुदायको आर्थिक, सामाजिक साँस्कृतीक विकासको लागि खोलिएको हुन्छ । तर राज्यका अधिकारीहरु नै स्वार्थबाट प्रेरित भई सहकारी दर्ताको विकृतीले आज सहकारीमा विकृतीहरु बढेको हो । यसको जिम्मा सरकारले लिनुपर्दछ । सहकारी सदस्यको हो । सदस्यबाटै बचत संकलन गर्ने र सदस्यलाई परिचालन गर्ने भएकोले सहकारी बचाउने नाममा राज्यबाट रकम माग्नु गलत हो । सहकारीमा गलत गर्नेहरुलाई कारबाही गर्नुपर्दछ । यो भनाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको हो । वहाँले व्याजको लोभमा नफस्न र सही सहकारी पहिचान गरी मात्र सदस्य बन्न अनुरोध गर्नु भयो । सहकारीबाट संकलीत पुँजी कृषि तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा वहाँले जोड दिनुभयो ।
विशेष अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सहकारीको नाममा ठगी धन्दा चलाउनाले सहकारी बदनाम भइरहेको कुरा बताउदैं त्यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाहि गर्नु पर्ने विचार राख्नुभयो । वहाँले भक्तपुर नमुना जिल्ला भएकोले आसन्न विस्केट जात्रा शान्तिपुर्वक सम्पन्न गरी ऐतिहासिक विस्केट जात्राको महिमा बढाउनुपर्नेमा जोड दिनुभयो ।
अतिथि जिल्ला सहकारी संघ लि.का अध्यक्ष केदार खड्काले आर्थिक मन्दिका कारण देशमा सहकारी क्षेत्रले ठुलो संकट भोगिरहेको बताउनुभयो । सहकारीको मुल्य, मान्यता र सिद्धान्त विपरित संचालित सहकारीको विकृतीले सहकारी बदनाम भइरहेको वहाँको भनाइहो । वहाँले सही सहकारी चिन्नेर मात्र सदस्य भई कारोबार गर्न सचेत हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रमका सभापति संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समितिदर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको कु्रा बताउदै सहकारीमा सदस्यको व्यक्तिगत बचत सिमा २५ लाख तोक्ने गरी ऐन संशोधनको सरकारको प्रस्ताव प्रतिविरोध जनाउनुभयो । वहाँले तीनखम्बे अर्थनिीतिमा सहकारी पनि एक खम्बा भएकोले सो खम्बाको संरक्षणमा सरकार गम्भिर हुनुपर्ने बताउनुभयो । वहाँले सहकारीमा विकृती कहाँबाट कसरी भित्रीयो भन्ने कुरा सदस्यलाई थाहा नै नदिई सहकारी बचाउको नाममा राज्यसंग पैसा माग्दैमा समस्या समाधान नहुने कुरा बताउनुभयो ।वहाँले बर्तमान सहकारीको समस्या समाधानगर्न नियमनकारी निकायमा धाउने भन्दा संस्थाका आफ्नै सदस्यमाझ गई समाधान खोज्नु पर्नेमा जोड दिनुभयो । सहकारी दिवसको अवसरमा संघमा आवद्ध सदस्यहरुमध्ये जिल्लास्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि सिमल बचत तथा ऋण सहकारी संस्था लि. सूर्यविनायक १०, भक्तपुर नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि बाराही बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर ४, मध्यपुर थिमि नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि शंखधर बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमि ४, सूर्यविनायक नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि पारिजात बचत तथा ऋण सहकारी संस्था लि. सूर्यविनायक ५ र चाँगुनारायण नगरस्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारका लागि छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्था लि., चाँगुनारायण ४ छनौट भएको घोषणा गर्नुभयो ।
संघका उपाध्यक्ष हरि बल्लले सहकारी आन्दोलन र अभियानमा कालो बादल छाएको छ, त्यो बादल कुन कारणले देखियो, सम्पुर्ण सहकारीकर्मीहरुले मनन गर्नुपर्ने विचार राख्नुभयो । वहाँले सबै सहकारीकर्मीहरु एकजुट भएर त्यो कालो बादल हटाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको संचालन संघका सचिव जगनाथ प्रजापतिले गर्नुभयो । प्रभातफेरी कार्यक्रममा १६२ वटा संस्थाहरुबाट ३५०० जना भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।